सुदूरपश्चिमको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा शुुक्रबार तोडफोड गरेको हो ।

दिउँसो परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा पुगेका नेता तथा विद्यार्थीले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक देवसिंह नाथले १२–१५ जनाको समूहमा आएका समाजवादी सम्बद्ध अनेरास्ववियूका नेता तथा कार्यकर्ताले तोडफोड गरेको बताए । नाथकाअनुसार उनीहरुले आफूहरुले लगाएको ताला किन तोडेको भन्दै कार्यालयमा तोडफोड गरेका थिए ।

सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, सिसा, कागजपत्र भएको दराजमा क्षति पुुगेको छ । अनेरास्ववियूले कार्यकक्षमा तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ ।

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ ।

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्