महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित
काठमाडौँ । भदाै २२, आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
मलेसियाको बाङ्गीमा आज भएको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग ४८ रनले पराजित भएको हो । पराजित भएसँगै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अपूरो भएको छ ।
थाइल्यान्डले जितका लागि दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रन बनाउँदै अलआउट भयो ।
नेपालकी कविता कुवँरले अविजित १७ रन बनाइन् । यस्तै, कविता जोशी र अप्सरी बेगमले १०–१० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
थाइल्याण्डका कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३–३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो ।
थाइल्याण्डकी नान्नापत खोन्चरोएनकाईले ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । यस्तै, नट्थाकन चान्थम्ले ३१ रन जोडिन् । नेपालकी कविता कुँवर र पूजा महतोले १–१ विकेट लिए ।
यो खेलमा विजेता भएसँगै थाइल्याण्डले टी–ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाएको छ ।
अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।