सशस्त्र प्रहरीको पेट्रोल पम्पमा विद्युतीय चार्जिङ स्टेसन उद्घाट

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आइतबार २ वटा फास्ट चार्जिङ स्टेसन उद्घाटन गरेका हुन् ।

सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् ।

चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठूला बससहित ६ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच ९ भदौ २०७९मा चार्जिङ स्टेसन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो ।

प्राधिकरणले पहिलो चरणमा देशका विभिन्न स्थानमा ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित : 10 September, 2023

प्रतिक्रिया दिनुहोस्