कोशीका सांसद खगेनसिङले दिए डीएसपीलाई ज्यान मार्ने धम्की

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् ।

शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् ।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले डीएसपी राजन लिम्बूलाई धम्की दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हाङगामले भनेका छन्, ‘सक्छस् भने यहीँ आइज, म लुगा खोल्न तयार छु, खेल्न सक्छस् भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाई म तीन सेकेण्ड पनि राख्दिन बाँकी ।’ राजनीति उखरमाउलो किसिमले तातिएको बेला आफूहरु मान्छे मार्न पनि नडराउने उनको धम्की थियो ।

कांग्रेस सांसद हाङगाम गत वर्ष मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १९१० बाट कोशी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुन् ।

बिहीबार राति ताप्लेजुङमा मिनी मेला सकिएपछि प्रहरी र हाङगामका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि हाङगामका कार्यकर्ता प्रहरीमाथि जाइलागेको थियो ।

विवादपछि बिहीबार राति करिब साढे १० बजे प्रहरी टोली सांसद हाङगामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा पुगेको थियो । जसको भिडियो सांसद हाङगामको सचिवालयले सामाजिक सञ्जालमा राखेको छ । प्रहरी टोलीले घरको गेटमा लात्तीले हानेको भिडियोमा देखिन्छ ।

घरमा हुलहुज्जत गरेको विरोधमा शुक्रबार हाङगामका कार्यकर्ताले फुङलिङ बजार केही समय बन्द गरे । जिल्ला प्रहरी कार्यालयमा पनि ढुंगामुढा गरे । ढुंगामुढा गर्ने टोलीलाई लखेट्न प्रहरीले अश्रुग्यास र हवाइ फायर पनि गरेको थियो । त्यसपछिको कोणसभामा हाङगामले आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

यो अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि सांसद हाङगामको आलोचना भइरहेको छ । सांसद हाङगाम भने मध्यरातमा डीएसपी लिम्बूले आफूलाई मार्न टोली पठाएकाले आफूले सार्वजनिक मञ्चबाट चुनौती दिएको खुलेआम स्वीकार गर्छन् ।

 

प्रकाशित : 10 September, 2023

प्रतिक्रिया दिनुहोस्