पोखराको न्यायिक समितिमा बलेंसीबाट चुहिने पानीकै कारण उजुरी
काठमाडौँ । भदौ २४, गत आर्थिक वर्षमा पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।
विषय थियो, छिमेकी घरको बलेंसीबाट चुहिने पानीले दुःख दिएको । दुई छिमेकीबीच बलेंसीबाट चुहिने पानीकै कारण बेमेल भएपछि विवाद महानगरसम्म पुगेको थियो ।
महानगरको न्यायिक समिति अभिलेख प्रशासक सोम लम्सालका अनुसार मापदण्डअनुसार नै संरचना बनाए पनि कहिलेकाहीं ठूलो पानी पर्दा बलेंसीबाट झर्ने पानीले छिमेकीलाई सताउने गरेको छ ।
कहिलेकाहीं नजिकै बनेका २ वटा घरमध्ये एउटा होंचो र अर्को अग्लो हुँदा पनि बलेंसीको पानीले दुख दिएको भेटिएको उनको भनाइ छ ।
‘मापदण्डअनुसार नै घर बनाएका हुन्छन् । तर, कहिलेकाहीं ठूलो पानी पर्दा बलेंसीको पानी पनि ठूलो हुने गर्छ,’ न्यायिक समितिका अभिलेख प्रशासक सोम लम्साल भन्छन्, ‘त्यस्तोबेला हामीले वस्तुस्थिति हेरेर समस्याको हल गरिदिने गरेका छौं । छेकबार लगाउने, पानी तर्काउने उपायहरु सुझाउने गरेर विवाद सुल्झाएको उदाहरण छन् ।’
संघीयतापछि स्थानीय तह उपप्रमुखको संयोजकत्वमा गठन हुने न्यायिक समितिमा कस्ता उजुरी पर्छन्, यो एउटा उदाहरण हो । पोखरा महानगरको न्यायिक समितिमा घरभाडा विवाददेखि काम गरेको ज्याला नदिएकोसम्म उजुरी पर्ने गरेका छन् ।