एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ । भदौ २५, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
संस्थापनइतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिए ।
उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको तुलाधरले जानकारी दिए ।
अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।
हामीले अध्यक्ष र महासचिव दुवै जनाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौं । प्रस्ताव दर्ता भएपछि उहाँहरु स्वत: निलम्बनमा पर्नुभयो । अब बर्खास्तीमा परेपछि उहाँहरुले काम गर्न पाउनुहुन्न,’ तुलाधरले भने ।
प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए ।