२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को शिलान्यास
काठमाडौं । भदौ २६, रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास भएको जानकारी प्राप्त भएको छ ।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुने जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा आयोजनाको बाँधलगायत संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास भएको हो ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन् ।
शिलान्यास समारोहमा मन्त्रीले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको बताए ।
हिउँदको विद्युत माग पूरा गर्न आवश्यक नमूना आयोजनाको रुपमा रहेका यो आयोजना तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने समेत जानकारी प्राप्त भएको छ ।