नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम बिदाइ

काठमाडौँ । भदौ २८, संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।
बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।
शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि-अघि र शव बोकेको गाडी पछि-पछि छ । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् ।
संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ । उनीहरु हातमा फूलमाला लिएर लामबद्ध छन् ।
गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।