नेपालमा लगानी बढाउन चेम्बर अफ कमर्सद्धारा चिनियाँ निजी क्षेत्रलाई आग्रह

काठमाडौँ । भदौ २८, नेपाल चेम्बर अफ कमर्सद्धारा नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवम् व्यापारिक सम्वन्धबारे छलफल गरेको हो ।
जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरे ।
अध्यक्ष मल्लले भने, ‘नेपाल चीनबीचको सम्वन्ध कूटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण छ । पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु ।’
लगानीका लागि हुने नीतिगत कठिनाइ अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लले बताए । उनले नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरवलोकन गरेर व्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष मल्लले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा वार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।