प्रतिनिधिसभाले नेम्वाङको निधनमा गहिरो शोक प्रकट

काठमाडौँ । भदौ २८, संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार गहिरो शोक प्रकट गरेको छ ।
सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेका उनले बताए ।
मृदुभाषी सरल, सहज र समन्वयकारी नेम्वाङको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको सभामुख घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावमा उल्लेख छ ।
संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने नेम्वाङको निधनमा प्रतिनिधिसभाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको सभामुख घिमिरेले बताए । सभामुखले प्रस्तुत गरेको शोक प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतले पारित गरेको थियो ।
शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । यसअघि बिहीबार नै राष्ट्रियसभा बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।