भोजपुरको महभिर झरनामा पर्यटकको आकर्षण बढ्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज २, भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।

भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ ।

सडकको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनौ मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।

विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने स्थानीयवासीको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयवासीले  जानकारी दिए ।

यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आगमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाको भनाइ छ ।

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्