जसपा नेतालाई समात्ने ३ नगरप्रहरीलाई महानगरले पदबाट हटायो

सहयात्रा टिभी

काठमाडौं । असोज २, विराटनगर महानगरपालिकाले ३ जना नगरप्रहरीलाई पदबाट हटाएको छ ।

जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो ।

विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो । त्यसपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो ।

नगर प्रहरीले कठालोमा समातेर लछारपछार पार्दै ल्याएको भिडियो सार्वजनिक भएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरप्रमुख नागेश कोइरालाले नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाएका हुन् ।

भदौं २७ गते बेलुका नगरप्रहरीले जसपा नेतालाई लछारपछार पार्दै प्रहरी कार्यालय पुर्याएका थिए । लगतै मेयर नागेश कोइरालासँगको छलफपछि घटना साम्य भएको थियो ।

तर लछारपछार पारेको भिडियो सार्वजनिक भएपछि जसपाले प्रदर्शन गरेको थियो । जसपाले प्रदर्शनपछि महानगरपालिकामा भदौं ३१ गते महानगर प्रमुख र जसपा नेताबीच छानविन गरी कारवाही गर्ने सहमति भएको थियो ।

छानबिनपछि नगरप्रहरी हलल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगरप्रहरी सेवाबाट हटाएको मेयर नागेश कोइरालाले जानकारी दिएका छन् ।

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्