प्रदीप पौडेलद्धारा कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप
काठमाडौं । असोज ७, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’
‘३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्यो ।’
उनले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् ।
‘एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?’ उनले सभापतिसँग सोधे,‘उनीहरु अधिवेशनका प्रतिनिधि हुन्छन् कि प्रर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुल हेरेर बस्ने हुन्छन् ?
अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गरेको उनले गुनासो गरे । अनुशासनको कारबाही गर्दा त्रुटी भएको पौडेलले बैठकमा उल्लेख गरे ।