मन्थलीको नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमतामा वृद्धि
काठमाडौँ । असोज १०,नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २ सय २० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।
२२०/१३२ केभी सबस्टेसनमा जम्मा १ सय एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २ सय एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलवार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भइ ३ सय एमभीए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्रयाङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।
तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् १ सय ३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो ।
यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रवाह हुन सकिरहेको थिएन ।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ ।
नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा शुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।