डब्लूएचओको क्षेत्रीय निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

काठमाडौँ । असोज १५, डब्लूएचओको क्षेत्रीय निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
अबको एक महिनापछि आगामी ३१ अक्टोबरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुँदैछ ।
यसअघि सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यसपटक यो क्षेत्रका ११ वटामध्ये दुईवटा मुलुक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
डब्लूएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण-पूर्वी एसिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो ।
त्यसको दुई महिनापछि २३ जुनमा नेपालले राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले डब्लूएचओलाई पत्राचार गर्दै नेपालका तर्फबाट क्षेत्रीय निर्देशकको पदमा डा. शम्भु आचार्यको मनोनयन दर्ता भएको छ ।
हाल संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्व भारतले गरिरहेको थियो । भारतका तर्फबाट डा. पुनम क्षेत्रपाल सिंहले संगठनको क्षेत्रीय निर्देशकमा निरन्तर दुई कार्यकाल सर्वसम्मत चयन भएर काम गरिसकेकी छन् ।
उनी पहिलोपटक सन् २०१४ र दोस्रोपटक सन् २०१८ मा गरी दुईपटक क्षेत्रीय निर्देशकमा चयन भएकी थिइन् ।
यसपटक भने संगठनको क्षेत्रीय निर्देशकका लागि चुनाव हुने भएको छ । नेपालबाट डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट डिपार्टमेन्ट’ को निर्देशक पदमा रहेर काम गरिरहेका डा. आचार्यको मनोनयन दर्ता भएको छ ।
आचार्यसँग प्रतिस्पर्धामा बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छन् ।