कर्फ्युका कारणनेपाल–भारतमा अलपत्र परेकालाई गन्तव्यतर्फ पठाइँदै

काठमाडौं । असोज १७, नेपालगञ्जमा लागेको ‘कर्फ्यु’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।
कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो ।
उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।
यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो ।
जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीमध्ये रातिदेखि नाकामा अलपत्र परेका छन् ।
दशैं नजिकिंदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाब लगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् ।
कर्फ्युपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कपर्यु जारी गरेको थियो ।