चिनी कालोबजारीमा संलग्न फर्मलाई उन्मुक्ति दिने तयारी
काठमाडौँ । असोज १८, वाणिज्य, आपर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७ मेट्रिक टन चिनी भन्डारण र कालोबजारीमा संलग्न फर्मलाई नाम मात्रैको कारबाही गरेर उन्मुक्ति दिने तयारी गरेको छ ।
असोज ३ मा लेबल नभएको ७० हजार किलो चिनीसहित विभागको टोलीले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको थियो । सो फार्मलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अनुसन्धान हुनुपर्ने हो । तर, गोदाम सिल गरेको १४ दिनपछि विभागले फर्मलाई उपभोक्ता संरक्षण ऐनबमोजिम ३ लाख रुपैयाँ मात्रै जरिवाना गरेर सिल खोल्ने तयारी गरेको हो ।
चिनीको गोदाममा लगाइएको सिल भोलि खोल्ने तयारी भइरहेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । ‘जरिवाना गराएर चिनीको गोदाम खोल्दै छौं,’ उनले थपे, ‘चिनी खानयोग्य छ । लेबल बिनै बिक्रि गर्ने उद्योगबारे थप छानबिन भइरहेको छ ।’
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको, मूल्यवृद्धि गराएर अनुचित नाफा लिई बजारमा बिक्री गर्ने नियतले त्यस्तो माल वस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
साथै, उपभोक्ता ठगी गरेको व्यापारीलाई ऐनअन्तर्गत कारबाही गर्न वाणिज्य विभागले जिल्ला प्रशासन वा प्रहरीलाई कसुरदारविरुद्धको मुद्दा बुझाउनसक्ने कानुनी व्यवस्था समेत छ ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत सहभागी संयुक्त अनुगमन टोलीले भेट्टाएको कैफियतलाई कमजोर कानुनमा टेकेर उन्मुक्ति दिन खोजिएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।