बझाङमा ३०० बढी परकम्प जाने क्रम जारी

सहयात्रा टिभी

काठमाडौं । असोज १९, बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५।३ र चैनपुर केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए ।

उनका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ ।

घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ ।

भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन भइसकेको छैन ।

क्षतिको यथार्थ विवरण छिटो उपलब्ध गराउन पालिकाहरुलाई जिल्ला विपद व्यवस्थापन समितिले निर्देशन दिएको छ । सबै पालिकाका सबै वडाबाट परिचालित टिमले क्षतिको विवरण संकलन गरिरहेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् ।

 

प्रकाशित : 6 October, 2023

प्रतिक्रिया दिनुहोस्