प्रेमिकाको लागि ‘ग्याङफाइट’ गर्न हिँडेका १५ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असोज १९, प्रेमिकाको विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना १८ वर्ष मुनिका छन् ।

प्रहरीका अनुसार विराटनगरको एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलायो । अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा थियो ।

घरेलु हतियारसहितको टोली आएको जानकारी पाएपछि प्रहरीले सक्रियता बढायो । सुरुमा विराटनगरको घोगापुल चोकमा भेला भएका मध्ये दुई जना पक्राउ परे । अरु भागे । घरेलुहतियारसहित पक्राउ परेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरीले १३ जनालाई सनीमन्दिर चोक नजिकैबाट पक्राउ गर्‍यो ।

प्रहरीको सक्रियताले सम्भावित दोहोरो झडपका कारण हुनसक्ने क्षति टरेको  बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीलगायतका घरेलु हतियार बरामद भएको छ ।

‘ग्याङफाइट’का लागि हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी पक्राउ परेका छन् ।

पक्राउ परेका अन्य बालक पनि बर्जु गाउँपालिका– ६ कै हुन् । पक्राउ परेका शेखको साथबाट तरबार बरामद भएको थियो । उनी मुख्य योजनाकार भएको प्रहरीले बताएको छ ।

 

प्रकाशित : 6 October, 2023

प्रतिक्रिया दिनुहोस्