टिस्टाको बाढीले क्षति पुग्दा भारतमा नेपालको बिजुली महँगीयो

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, मंगलबार भारतको ‘डे अहेड’ बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भइरहेको छ ।

भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थातः (१६ रुपैयाँ प्रतियुनिट) मूल्यमा बिजुली बिक्री भइरहेको हो ।

भारतीय बजारमा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गर्छ ।

तर, मंगलबार भने ९६ वटा नै ब्ल्कमा प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थात १६ रुपैयाँमा बिक्री भइरहेको छ ।

रुस–युक्रेन युद्धको समयमा कोइला आयातमा समस्या आएपछि विद्युतको मूल्य आकाशिएको थियो । करिब दुई वर्षअघि भारतले आईएक्स बजारलाई नियमन गरी विद्युत् खरिद बिक्रीको अधिकतम दर प्रतियुनिट १२ भारतीय रुपैयाँ तोकिएको छ ।

अहिले यो सीमाभित्र रहेर कारोबार हुन्छ । पछिल्लो समय भारतको टिस्टा नदीमा रहेको जलविद्युत् परियोजनाहरुमा बाढीले क्षति पुग्दा भारतमा विद्युतको उत्पादन घटेको छ ।

सोहीकारण माग अनुसार विद्युत् बिक्रीकर्ताले प्रस्ताव पेश गर्न नसक्दा नेपालको बिजुलीले राम्रो मूल्य पाएको हो । सामान्य अवस्थामा नेपालको बिजुलीको मूल्य प्रतियुनिट ५ देखि ८ रुपैयाँ भारुको बीचमा रहने गरेको छ । आईएक्सको रियल टाइम मार्केटमा समेत आज भारु प्रतियुनिट १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 10 October, 2023

प्रतिक्रिया दिनुहोस्