राहुल भनिने रेशम महरासहित ४ विरुद्ध मुद्दा दर्ता

सहयात्रा टिभी

काठमाडौँ । असोज २३,  भेप मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा राहुल सहित ४ विरुद्ध मुद्दा दर्ता भएको छ ।

अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गराएको हो ।

मुद्दामा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।

पूर्वसभामुख महरा भने प्रतिवादी बनाइएका छैनन् । टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकृतहरु बताउँछन् । मिसिलमा संलग्न महराको बयान कागजमा महराले तत्कालीन विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको भनेका छन् ।

‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त भेप जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु होला भनेर भनेर अरुण पोखरेलको सम्पर्कमा गएका हुन्’, उनले भने, ‘दाओजिन वाङसँग मेरो पुरानो निजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रुपमा नेपालमा व्यापार गर्ने भनेर चिनाएका थिए ।’

उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गरेपनि त्यसबाहेक अरु कुनै किसिमको सम्बन्ध नरहेको दाबी गरेका थिए । थप चिनियाँ नागरिकलाई विवरण खुले र पक्राउ परेका बेला फेरि प्रतिवादी बनाउन मिल्ने गरी अभियोग दर्ता गराइएको सरकारी वकिलको कार्यालयका अधिकारीहरु बताउँछन् ।

 

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्