कांग्रेस कोशी प्रदेशले बोलायो बैठक, शेखर पक्षको ‘विद्रोह’ बारे निर्णय लिने

सहयात्रा टिभी

विराटनगर । असोज २६, मुख्यमन्त्री दाबीमा गठबन्धनको निर्णयविरुद्ध गएका सांसदहरूबारे निर्णय लिन कांग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । बैठकमा शेखर पक्षले गरेको ‘विद्रोह’ बारे छलफल हुने बताइएको छ ।

पार्टी निर्णयविरुद्धको घटनालाई गम्भीररूपमा लिएर आज ११ बजे कार्य सम्पादन समितिको बैठक बोलाइएको कोशी कांग्रेसका महामन्त्री भूपेन्द्र राईले बताए । उनले एमालेसँग मिलेर मुख्यमन्त्री दाबी गरेका केदार कार्की र साथ दिएका अन्य सांसदलाई के गर्ने भनी निर्णय लिइने बताए ।

राईले थपे, ‘सभापतिले प्रस्ताव ल्याउनु होला । प्रस्तावमा छलफल गरेर निर्णय हुन्छ । पहिला सच्चिने र फिर्ता हुने समय दिइने छ ।’

कोशी प्रदेश सभामा रहेका कांग्रेसका ८ सदस्यले एमालेसँग समीकरण बनाई केदार कार्कीलाई मुख्यमन्त्री दाबी गरेका छन् । पछि हिमाल कार्की पनि मिसिएपछि यो संख्या ९ पुगेको छ । गठबन्धनले भने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने कार्कीले बताए ।

कांग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धव थापाले भने पार्टी नीतिविपरीत उभिनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : 13 October, 2023

प्रतिक्रिया दिनुहोस्