कोशीमा विकसित हुने घटनाक्रमलाई नजिकबाट हेर्ने राप्रपाको निर्णय

काठमाडौं । असोज २६, राप्रपाले कोशीमा सरकार गठनबारे छलफल गर्न शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको थियो ।
तर, बिहीबार नै कांग्रेसका केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको घटनाक्रमले अर्कै मोड दिएको छ । बैठकले सरकारबारे कुनै निर्णय नगरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दाबी पेस गरेका छन् । तर, आङ्बोले कांग्रेससहित सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दल नेताको मात्र हस्ताक्षर बुझाएकाले कार्कीको दाबी बलियो देखिएको छ ।
कार्कीले बुझाएका प्रदेश सांसदहरुले हस्ताक्षर दुरुपयोग भयो पनि नभनेकाले उनी नै मुख्यमन्त्री बन्ने राप्रपा नेताहरुको विश्लेषण छ ।
कोशीमा विकसित हुने घटनाक्रमलाई नजिकबाट हेर्ने र अब विश्वासको मत लिने बेला के गर्ने भन्ने थप छलफल गरेर निर्णय लिने नेताहरुले बताएका छन् ।