भियतनामबाट ३ वटा चार्टर्ड उडानबाट ठूलो संख्यामा पर्यटक नेपाल आउँदै
काठमाडौं । असोज २८, नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् ।
तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएका हुन् ।
आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् ।यी पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने कम्पनीले जनाएको छ ।
यो टोलीमा खर्चालु पर्यटकको ठूलो संख्या रहेको र यसले नेपाललाई खर्चालु पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ ।
भियतनाममा करिब १५ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बी छन् । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्ने समेत कम्पनीले जनाएको छ ।
नेपाल–भियतनाम चार्टर उडान भईरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने कम्पनीले जनाएको छ ।
उडानका क्रममा एकतर्फी खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रुपमा किफायती बनाउने प्रयास भइरहेको समेत रुप्से होलिडेजले जनाएको छ ।