सिंगापुरमाथि ८ विकेटले नेपालको सानदार जित

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ ।

सोमबार प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे । सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
सिंगापुरका रंगराजनले ३० बलमा एक छक्का र नौ चौकासहित ४६ रन जोडे । तल्लो क्रममा आएका आर्याविर चौधरीले ३७ रन बनाए । मनप्रीत सिंहले समेत २४ रनको इनिङ्स खेले । अन्यले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि अविनाश बोहराले डेथ ओभरमा सानदार बलिङ गर्दै तीन विकेट लिए । यस्तै करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो । नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।

समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित : 30 October, 2023

प्रतिक्रिया दिनुहोस्