इप्पानका अध्यक्ष कार्कीद्धारा नेपालमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपालको जलविद्युत् लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनमा रहेको नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गर्नुभएको हो ।

सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूका बारेमा जानकारी दिँदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएको थियो ।

त्यसैगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजनाहरूमा लगानीको ठूलो अवसर भएको बताउनुभयो ।

भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौता एवम् जलविद्युत् विकासका लागि नेपाल सरकारको आउँदो योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पूँजीको आवश्यकता र अवसर रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरूमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो ।

नेपालले विद्युत् व्यापारका लागि छिमेकी देश भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने तयारी गरेको बताउँदै राजदूत आचार्यले नेपालको जलविद्युतबाट दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

 

प्रकाशित : 1 November, 2023

प्रतिक्रिया दिनुहोस्