अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहे पनि अमेरिकाले अस्वीकार

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरिरहेको छ ।

युद्धविरामले हमासलाई सहयोग पुग्ने भन्दै अमेरिकाले अस्वीकार गरिरहेको हो । लेबनान, कतार र जोर्डनका नेताहरुले युद्धविरामको पहल गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकी पहल सफलताउन्मुख भएको बताएका छन् । अरब राष्ट्रले तत्कालै युद्धविरामको माग गरिरहेको अवस्थामा अमेरिकाले भने हमास पुनः सक्रिय हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताएको छ ।

युद्धविरामको निर्णयले हमासलाई सखाप पार्ने इजरायली योजनामा पनि असर पुग्ने भएकाले निकै संवेदनशील र सतर्क भएर निर्णय लिनुपर्ने अवस्था रहेको भनेर ब्लिंकेनले भनेको अलजजिराले लेखेको छ ।

युद्धविरामको माग र दबाब बढ्दै जाँदा इजरायली फौजले गाजामा हमला तीव्र पारेको छ । शनिबार गाजाबाट अन्यत्र जान चाहनेका लागि ३ घण्टाको समय दिइए पनि हमासले रोकेको आरोप इजरायली फौजले लगाएको छ ।

अमेरिकाले इजरायलको सैन्य आक्रमणलाई ‘आत्मरक्षा’ भनेको छ भने अरब मुलुकहरुले त्यसलाई ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र युद्धअपराध’ भनेका छन् ।

इजिप्ट जान मिल्ने राफ क्षेत्रमा विदेश नागरिकलाई प्रवेश गर्न दिइएको छैन । हमासले घाइतेहरुलाई मात्रै त्यस क्षेत्रबाट इजिप्ट पठाउने गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत साता टर्कीका राष्ट्रपति रिसेप तइप एर्दोआनले हमास मुक्ति समूह रहेको भन्दै इजरायलले हमासमाथि युद्ध अपराध मच्चाएको बताएका थिए । त्यहीँ पुगेर अमेरिकाले जटिल मानवीय संकटलाई मध्यनजगर गर्दै माग भइरहेको युद्धविरामका लागि कूटनीतिक थालनी गर्न लागेको हो

अरब क्षेत्रमा संकट निम्तिँदा समेत अमेरिकाले कुनै पहलकदमी नलिएको भन्दै आलोचना बढ्दै गएपछि विदेशमन्त्री ब्लिंकेन जोर्डन पुगेर अरब मुलुकका नेताहरुसँग संवाद गरेका हुन् । अरबमा अमेरिकी प्रभाव यथावत राख्ने हो भने वर्तमान संकट समाधानका लागि उनले तत्कालै नयाँ रणनीति अपनाउनुपर्ने माग त्यस क्षेत्रका नेताहरुले गरेका छन् ।

 

प्रकाशित : 6 November, 2023

प्रतिक्रिया दिनुहोस्