चलचित्र विकास बोर्डद्धारा उच्च अदालत पाटनमा लिखित जवाफ पेश

सहयात्रा टिभी

काठमाडौं । कातिक २१, सर्वश्रेष्ठ फिल्म विधा हटाएर राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको भनी दायर रिटमा चलचित्र विकास बोर्डले उच्च अदालत पाटनमा लिखित जवाफ पेश गरेको छ ।

अध्यक्ष भुवन केसीले वारेसमार्फत पेश गरेको जवाफमा फिल्म ‘प्रकाश’लाई जुरीले उत्कृष्ट चलचित्र भनी सिफारिस गरेको तर बोर्डका एक जना सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरिएको दाबी गरिएको छ ।

सदस्य अधिकारीले फिल्म ‘प्रकाश’ले देश र अहिलेको व्यवस्थाप्रति नै गलत व्याख्या गरेको भन्ने विषयमा गम्भीर आपत्ति रहेको भन्दै भदौ ७ गते उजुरी पेश गरेको जवाफमा उल्लेख छ । उक्त उजुरीको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।

छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय चलचित्र विधाको पुरस्कार कार्यक्रम स्थगन गरिएको बोर्डको जिकिर छ ।

बोर्डले पुरस्कारबारे अन्तिम निर्णय गर्ने अधिकार जुरी समितिलाई नभएर बोर्डलाई हुने दाबी पनि गरेको छ । कानुनले दिएको अधिकारभन्दा बढी अधिकार प्रयोग नगरेको र शक्तिको दुरुपयोग नगरेको जवाफ केसीले दिएका छन् ।

 

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्