ताप्लेजुङमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै
काठमाडौं । कातिक ३०, ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् ।
अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।
अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै गएको किसानहरुको भनाइ छ ।
सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि किसानहरुले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरेका छन् ।
लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ बन्न पुग्यो। पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् ।
रित्तिएको बस्तीमा हराभरा बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले किसानहरुको मन तान्यो ।
किसानले किवी खेती विस्तारै गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाङ्गिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको किसानहरुले बताए ।
जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् ।