टी-२० क्रिकेटमा हङकङविरुद्ध नेपाल ५६ रनमै ‘अल आउट’
काठमाडौं । कातिक ३०, चार राष्ट्र सम्मिलित महिला टी–२० क्रिकेट श्रृंखलामा नेपालले हङकङलाई ५७ रनको सामान्य लक्ष्य दिएको छ।
दुबईको अल मकूम स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनाउन सक्यो।
नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर पूजा महतो ४ रनमै आउट भइन्। त्यस्तै, सम्झना खड्का १ रन, काजल श्रेष्ठ र इन्दू बर्मा शून्य रनमा आउट भए।
त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १/१ रनमा आउट भए। रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्। उनले २५ रनको योगदान गरिन्। त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।
हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन्। यसअघि बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो।
खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको १ सय १६ रनको लक्ष्य पूरा गर्न असफल भएको हो। आजको खेल नेपाली ब्याटरका लागि पुनरागमन गर्ने राम्रो अवसर हो।