लप्सीफेदीमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ३ सुरक्षाकर्मी घाइते

सहयात्रा टिभी

काठमाडौं । मंसिर २, काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् ।

स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए ।

सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए ।

१७४ रोपनी जग्गा अधिग्रहण

लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् ।

जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको नेपाल विद्युत प्राधिकरणको रेकर्ड छ । तर, राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान -समान, नेपाल) नाममा सबस्टेसन निर्माणमा अवरोध भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरुको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको बताए । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए ।

उनले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत् प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन् ।

शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा स्थानीय रुष्ट भएको बताए । ‘हिजो बेलुका कार्यालयहरु बन्द भइसकेपछि प्रहरीहरु आउनु भएको थियो । त्यही बेला तनाव भयो,’ वडाअध्यक्ष तामाङले भने ।

सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती-बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लप्सीफेदी सवस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी. सवस्टेसन सम्पन्न हुने चरणमा छ ।

प्राधिकरणले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सवस्टेसन अन्यत्र सार्न नसकिने बताउँदै आएको छ ।

प्रकाशित : 18 November, 2023

प्रतिक्रिया दिनुहोस्