ओडीआई विश्वकपको उपाधि जित्ने अष्ट्रेलियाका ७ खेलाडी
काठमाडौँ । मंसिर ४, भारतलाई उसैको मैदानमा ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैटौं पटक ओडीआई विश्वकपको उपाधि जित्यो । यो कीर्तिमानी जित हो ।
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बलिङ, फिल्डिङ र ब्याटिङ सबैमा उत्कृष्ट प्रदर्शन गरेको अष्ट्रेलियाले ट्राभिस हेडको १३७ रनको मद्दतमा २४१ रनको लक्ष्य ७ ओभर अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाले विश्वकपमा कीर्तिमानी जित निकाल्दा टिमका ७ खेलाडीले पनि व्यक्तिगत उपलब्धि हासिल गरेका छन् । उनीहरुले दुई पटक ओडीआई विश्वकप जित्ने उपलब्धि हात पारे ।
स्टिभ स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल मार्स, मिचेल स्टार्क, जोस हेजलउड र कप्तान प्याट कमिन्सले दुई विश्वकप जितेका हुन् ।
अष्ट्रेलियाले यसअघि सन् २०१५ मा घरेलु मैदानमा ओडीआई विश्वकप जितेको थियो । त्यस बेला यी सात खेलाडी टोलीमा थिए । तर, मार्स र कमिन्सले प्लेअइङ ११ मा परेका थिएनन् । यस पटक भने यी सातै खेलाडीले भारतविरुद्ध फाइनल खेले ।
२०१५ को फाइनलमा स्टिभ स्मिथले ५६ र वार्नरले ४५ रन बनाएका थिए । यसपटक भने वार्नर ७ र स्मिथ ४ रनमा आउट भए । यस्तै २०१५ मा म्याक्सवेलले ब्याटिङ गर्नुपरेन भने यस पटक २ रनमा अविजित रहे । म्याक्सवेलले दुवै फाइनलमा समान एक विकेट पनि लिएका थिए ।
यस्तै स्टार्कले २०१५ को फाइनलमा २ विकेट लिएका थिए भने यस पटक ३ विकेट लिए ।२०१५ को फाइनलमा विकेटविहीन बनेका हेजलउडले यस पटक २ विकेट लिए ।
ओडीआई विश्वकप २०२३ मा सहभागी खेलाडी । जहाँ २०१५ मा विश्वकप जित्ने ७ खेलाडी सहभागी छन् ।
यी सात बाहेक भारतलाई हराउने टिममा ट्राभिस हेड, मार्नुस लाबुसचेन, एडम जाम्पा र विकेटकिपर जोस इङ्गलिस थिए ।
चोटका कारण सुरुको पाँच खेल नखेलेका हेडले फाइनलमा भारतविरुद्ध शतक नै बनाए । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक बनाउनुका साथै दुई विकेटसमेत लिएका थिए । सेमिफाइनल र फाइनल दुवैमा उनी म्यान अफ दि म्याच बने ।