केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतबाट नयाँ मूल्य आएको ५दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ४, तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो ।

निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ ।

नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ । खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउँछ ।

भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता म्ूल्य निर्धारण गर्छ ।

तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन । भारतबाट इन्धनको मूल्य घटेर आएको बिक्रेताले पनि थाहा पाइसकेका छन् ।

त्यसैले निगमले जुनसुकै बेला मूल्य घटाउन सक्ने आशंका गर्दै उनीहरु थोरै मात्रामा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन् । जसका कारण कैलाली, पोखरा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा इन्धनको आंशिक अभाव देखिएको छ । मूल्य समायोजन नहुँदा उपभोक्ता भने महंगोमा मूल्यमा इन्धन खरिद गर्न बाध्य छन् ।

आयल निगमको तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका मन्त्री रमेश रिजालले मूल्य समायोजनबारे निगमको तयारीबारे आफूलाई जानकारी नभएको बताए । तिहार बिदाका कारण आफू उपत्यका बाहिर रहेको भन्दै मन्त्री रिजालले भने, ‘घट्यो होला भनेको घटेको रहेनछ । म अब बुझ्छु ।’

 

प्रकाशित : 20 November, 2023

प्रतिक्रिया दिनुहोस्