मध्यरातमा महिलाहरुलाई लखेट्ने व्यक्ति युवा संघका सचिवालय सदस्य भएको पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ ।

सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो ।

राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा मध्यरातमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो ।

महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।

महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा आएको थियो ।

प्रहरी आउँदा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए । प्रहरीले राति ११ बजे नै युवा संघका अध्यक्ष क्षितिज थेवेलाई फोन गरेर घटनाको विषयमा जानकारी दिएको थियो । अध्यक्ष थेवेले आफूले प्रहरीबाटै थाहा पाएको बताए ।

उनले भने, ‘मलाई ११ बजे फोन आयो । त्यसपछि मैले भक्तपुरका स्थानीय साथीहरूलाई फोन गर्दा कोही पनि संलग्न नरहेको पाएँ । मैले पार्टी प्यालेसबाट निकालिएका महिलालाई त्यहीँ सुत्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरेको थिएँ । यसमा संगठनको तर्फबाट कुनै संलग्नता छैन ।’

विनोद राई माओवादीबाट, विप्लव हुँदै एमालेमा आएका हुन् । उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका रहेको बुझिएको छ । यसअघि दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको स्रोतले बताएको छ ।

 

प्रकाशित : 22 November, 2023

प्रतिक्रिया दिनुहोस्