पुनर्निर्माण भएका स्टेट हल र बेलायती नयाँ कार्यकक्षमा प्रधानमन्त्री

काठमाडौँ । मंसिर ६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् ।
२०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो ।
बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ कार्यकक्षमा पुगेर फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला,’ उनले भने,‘बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’
२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।
पश्चिम मोहोडाका यि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।
माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।
राणा प्रधानमन्त्रीहरुले ऐस आरामका लागि प्रयोग गरेका यस्ता कक्षहरु अहिले सिंहदरबारको इतिहाससँग जोडिएको गर्वको सम्पदा बनेका छन् । यी कक्षहरु बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा समेत राजकीय भेटवार्ता तथा भोजका लागि प्रयोग भएका थिए ।
हालै पुनर्निर्माण सकिएका सिंहदरबारभित्रको स्टेट हल २० वर्षदेखि भने प्रयोगविहीन छ । २ जेठ २०५८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ प्रधानमन्त्री झु रोङ्जीसँग भेटेपछि स्टेट हलको प्रयोग भएको छैन ।
बेलायती बैठक कक्षमा भने १ माघ २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ समकक्षी वेन जिआबाओसँग भेट गरेका थिए । त्यसपछि यो कक्ष प्रयोग भएको रेकर्ड छैन ।
२०७२ को भूकम्पअघि नै भित्ता चर्किने र भुईं थर्किने लगायत समस्या देखिएपछि यी कक्षहरु प्रयोगमा थिएनन् । झन् २०७२ सालमा यी कक्षका भित्ताहरु चर्किएपछि ताल्चा ठोकिएको थियो ।
सरकारले बेवास्ता गर्दा भूकम्प गएको ८ वर्षसम्म यी कक्षहरुको पुनर्निर्माण सकिएको थिएन ।
सरकारले चासो नदिंदा भएका कक्षहरु प्रयोग नहुने तर अति विशिष्ट विदेशी पाहुनासँगको भेटघाट पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता थियो । त्यसले सरकारको खर्च बढाएको तियो भने सुरक्षा व्यवस्थापन पनि जटिल हुने गरेको छ । अब भने प्रधानमन्त्रीले विशिष्ट भेटघाटमा यी कक्षहरु नै प्रयोग गर्नसक्ने अवस्था बनेको छ ।