राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीगलेश्वर खण्डमा कालोपत्रको काम शुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत बेनी–गलेश्वर खण्डमा हिजो शनिवारदेखि कालोपत्रको काम शुरु भएको छ ।

गएको वर्ष माघ महिनादेखि शुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र गर्न आजदेखि प्राइम कोट हाल्न शुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिनुभयो ।

प्राइम कोट हालेको २४ घण्टापछि ट्याक कोट हालेर गिट्टी हाल्ने र लगत्तै फस्टकोट राखेर मेसिनले पेल्ने उहाँले बताउनुभयो । त्यसपछि सेकेन्ड कोट अलकत्र छरेर मसिनो गिट्टी हालेर पेलेपछि कालोपत्रेको काम सकिनेछ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय धनञ्जय मङ्गलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

 

प्रकाशित : 26 November, 2023

प्रतिक्रिया दिनुहोस्