कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि
काठमाडौँ । मंसिर १२, कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ ।
पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती हुँदै आएको छ ।
औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ । आव २०८०र८१ को त्रैमासिक अवधिमा रु २२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार सात सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ ।
किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ ।
अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ ।