बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर १३, म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका-३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ ।

बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चामा आएको हो ।

यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गङ्गापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ ।

 

प्रकाशित : 29 November, 2023

प्रतिक्रिया दिनुहोस्