दीपेन्द्र लामाद्धारा निर्मीत फिल्म ‘दुःखी आत्मा’मा दयाहाङको सहकार्यता
काठमाडौं । मंसिर १३, लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्मको शीर्षक ‘दुःखी आत्मा’ राखिएको छ ।
‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको शीर्ष भूमिकामा अभिनेता दयाहाङ राई छन् ।
पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको यो फिल्ममा दीपेन्द्र र दयाहाङको चौथो सहकार्य हो । यी दुईले सँगै काम गरेको फिल्म ‘नांगो गाउँ’ हालै प्रदर्शनमा आएको थियो । घामपानी र दुई नम्बरीमा पनि उनीहरुले सहकार्य गरे ।
निर्माता कडरियाले निर्देशक लामाकै लेखन र निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ २’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्म नाम ‘दुःखी आत्मा’ तय गरिएको हो ।
२०८० सालको अन्त्यबाट छायांकन गर्ने जनाइएको यो फिल्मको कास्टिङ र प्राविधिकको चयन बाँकी छ । काठमाडौंमै खिचिने फिल्म सामाजिक र हास्यव्यंग्य कथावस्तुमा आधारित हुने निर्देशक लामाले जनाएका छन् ।
निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैटौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।