काठमाडौँमा कला उत्सव आजदेखि

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १६, काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले महोत्सव आयोजना गरेको हो ।

कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन् ।

कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्‍याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए ।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।

उद्घाटन पछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।

उनले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने छ ।

प्रकाशित : 2 December, 2023

प्रतिक्रिया दिनुहोस्