भारतको विधानसभा निर्वाचनको मतगणना जारी
काठमाडौँ । मंसिर १७, भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता कायम राखेको छ ।मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने कांग्रेसले अग्रता लिएको छ ।
सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् ।
मध्यप्रदेशमा भाजपाले १३६ सिटमा अग्रता लिएको छ भने कांग्रेस ९३ सिटमा अगाडि छ । मध्यप्रदेशका कूल २३० सिटमध्ये बहुमतका लागि ११६ सिट जित्नुपर्छ ।
मध्यप्रदेशमा सन् २०१८ को विधान सभा निर्वाचनमा कांग्रेसले ११४ सिट जित्दा भाजपाले जम्मा १०९ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए । अहिले भने कांग्रेसभन्दा भाजपाको अवस्था राम्रो देखिएको छ ।
राजस्थानमा पनि भाजपाकै अग्रता छ । राजस्थानका कुल १९९ सिटमध्ये भाजपा ११४ सिटमा अगाडि छ । कांग्रेसले ६७ सिटमा अग्रता लिएको छ । १७ सिटमा अन्य दल अगाडि छन् ।