फिर्केखोला मिचेर बनेका १६० संरचना भत्काउन महानगरद्धारा अदालतको आदेश पर्खिंदै

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १७, मानवीय अतिक्रमणको तीव्र चपेटामा परेको पोखराको फिर्केखोलाको वास्तविक ‘खोलाघर’ पत्ता लगाउन खटिएका प्राविधिकले २ महिना लगाएर असोज ६ गते महानगरलाई प्रतिवेदन बुझाए ।

प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले गरेको अध्ययनअनुसार १६० संरचना खोलाघरमै बनेको खुलेको थियो ।

त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले बनाएको पाइएको थियो ।

प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि महानगरले कात्तिक १० गते एक सूचना निकालेर ३५ दिनभित्र खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको थियो ।

सूचनामा तोकिएको समयभित्र संरचना नहटाए महानगरले आफैं हटाइदिने र त्यसवापतको खर्च संरचना धनीले नै व्यहोर्नुपर्ने बताइएको थियो ।

उक्त समयावधि मंसिर १४ गते नै सकिइसकेको छ । तर, कात्तिक २४ गते नै उच्च अदालत पोखराले फिर्के खोलाघर मिचेर बनेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएपछि महानगरपालिका रोकिएको छ ।

महानगरले ३५ दिने सूचना जारी गरेपछि फिर्के खोलाको संरचनामाथि बनेको फिर्के तमु समाज समेतले रिट दायर गरेका थिए ।

खोलाघर मिचेर बनेका संरचना हटाउन नपाएपछि महानगरले शनिबार सम्बन्धित वडाका वडाध्यक्षसँग सुझाव लिएको थियो । कार्यक्रममा महानगर मेयर धनराज आचार्यले प्राविधिक टोलीको प्रतिवेदनमा खोलाको वास्तविक आकारमा कसैको पनि बाहिर चर्चा चलेजस्तो जग्गाधनी पूर्जा नभएको प्रष्टिकरण दिए ।

 

प्रकाशित : 3 December, 2023

प्रतिक्रिया दिनुहोस्