लुम्बिनीका पर्यटन व्यवसायीले नेपाल एयरलाइन्सको जहाज नियमित सञ्चालन गर्न माग
काठमाडौँ । मंसिर १७, लुम्बिनीका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ९नाट्टा० लुम्बिनी प्रदेशले आइतबार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई काठमाडौंस्थित कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गौतमवुद्ध विमानस्थल लक्षित गरी होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लगानी असुरक्षित भएको उल्लेख गरिएको छ ।
व्यवसायीको लगानी सुरक्षाका लागि सरकारी स्वामित्वको निगमले नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ ।
नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीसहितको प्रतिनिधिमण्डलले जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै निगमका नायब महाप्रबन्धक कालाखेतीले हाल निगमका चारवटा मात्रै जहाज भएकाले भैरहवाबाट नियमित उडानका लागि समस्या भएको तर सरकारले सहजीकरण गरेमा नियमित उडान गर्न सकारात्मक रहेको बताएका नाट्टाका पूर्वअध्यक्ष अधिकारीले जानकारी दिए ।
विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु बैंकले लिलामी गरिसकेको व्यवसायीको भनाइ छ ।