आजदेखि नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १८, झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ ।

सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गरे ।

बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल-भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए ।

उनले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ ।

भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।

सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।

 

प्रकाशित : 4 December, 2023

प्रतिक्रिया दिनुहोस्