एनसेलको खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन

काठमाडौँ । मंसिर २०, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबारको बसेको बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ ।
विस्तृत अनुसन्धान नहुँदासम्म एनसेलको सेयर खरिदबिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न (रोक्न) निर्देशन दिएको हो ।
लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।
‘प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा सरकारको थप धारणा र अन्य महन्वपूर्ण समसामयिक विषयमा बुझ्न समितिको आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने’, समितिको निर्णयमा भनिएको छ ।