उपत्यकाको फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी छ : चिरिबाबु महर्जन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २१, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ प्रकृतिको मात्र रहेकाले जुनसुकै दिन रोकिन सक्ने बताएका छन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी रहेको बताए । ‘उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ ।

भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ’, उनले भने ।

हाल काठमाडौं उपत्यकाका दुईवटा महानगरपालिका र १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ ।

त्यहाँ दिनको लगभग १२ सय मेट्रिक टन फोहोर फाल्ने गरिएको छ । त्यहाँ फाल्ने फोहोरमध्ये ६५ प्रतिशत काठमाडौं महानगरपालिका र १९ प्रतिशतसम्म ललितपुरको हुने गरेको मेयर महर्जनले बताए ।

ललितपुर महानगरपालिकाबाट उत्पादित फोहोरको आफैं व्यवस्थापन गर्ने कि भन्ने सोचे पनि तत्काल सम्भव नहुने बताए ।

सरकारले काठमाडौं उपत्यकाको फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ । तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ ।

अहिले जसरी नै फोहोर फाल्ने हो भने त्यहाँको ल्याण्डफिल साइट छिट्टै भरिने उनले बताए ।

बन्चरेडाँडा क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न काठमाडौं उपत्यकाका सबै नगरपालिकाले दामासाहीले खर्च व्यहोर्नुपर्ने मेयर महर्जनले बताए ।

 

प्रकाशित : 7 December, 2023

प्रतिक्रिया दिनुहोस्