विपिनका आमाबाबुद्धारा उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौँ । मंसिर २२, इजरायल-हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’
जोशीको परिवारसँग प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउद शनिबार इजरायल जान लागेको जानकारी समेत गराएका छन् ।
हमासले इजरायलमा आक्रमण गरेकै दिनदेखि बेपत्ता भएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । इजरायल सरकारले जोशी हमासको नियन्त्रणमा रहेको बताएको छ । जोशीका आमाबुवा झण्डै दुई महिनादेखि उनको रिहाइको माग गर्दै आएका छन् ।