अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजार रुख काटिने
काठमाडौं । मंसिर २५, किमाथाङ्का सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ ।
आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ – ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो ।
पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिए ।
आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उनले बताए । योसँगै आयोजनाका लागि पहुँचमार्ग बनाउने प्रक्रिया थालिएको उनको भनाइ थियो ।
प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।