भोजपुर पुगेका ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाए

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, नेकपा (एमाले)को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् ।

बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो झन्डा देखाइएको हो ।

एमाले पार्टी कार्यालयनजिकै विरोध प्रदर्शन गर्दै पहिचानवादीले कालो झन्डा देखाएपछि धरपकड समेत भएको जनता समाजवादी पार्टी (जसपा)का सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।

हालसम्म कोसी प्रदेशका विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ परेका छन् ।

धनकुटामा बन्द गराउँदै हिँड्ने नौजनालाई प्रहरीले पक्राउ गरेका छन् ।  ती सबै पहिचानवादीलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं डीएसपी राजबाबु महर्जनले बताए ।

अध्यक्ष केपी शर्मा ओली ,तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिएको थियो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्