त्रिविको दीक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौँ । पुस २, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४९ औँ दीक्षान्त समारोहका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दीक्षान्त समारोहका कारण गाडीको चाप रहेकाले जाम हुँदा त्यसको असर अरू ठाउँमा पनि परेको छ ।
आज (सोमवार) को दीक्षान्त समारोहमा ७३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
त्रिवि र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुनेको गाडी पार्किङ स्थल तोकेको थियो ।
काठमाण्डौको टुँडिखेल, विश्व निकेतन मावि, वर्ल्ड ट्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यालय परिसरमा पार्किङ स्थल तोकिएको थियो ।
तर पनि एकै समयमा गाडी आउने र जाने भएको हुँदा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न समस्या परेको छ ।
कलङ्की, कालीमाटी क्षेत्रदेखि नै गाडीको जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि आजै मेलम्ची आयोजनाको पानीको माग गरेर बानेश्वरदेखि कोटेश्वरसम्म भएको प्रदर्शनले पनि जाम भएको थियो ।